धनकुटा प्रेस अनलाईन सम्वाददाता
विराटनगर/प्रदेश नं.१ पुनः नामाङकन संघर्ष समतिले आन्दोलनलाई थप सशक्त बनाउँने उदेश्यले पहिचानको लागि युवा दस्ता गठनगरी घोषणा समेत गरेको छ ।
शुक्रबार विराटनगर स्थित संगम पार्टी प्यालेसमा कार्यक्रम आयोजना गरी भिम राई र विराज लिम्बुको संयोजकत्वमा १ सय ५१ जनाको केन्द्रिय समिति संगठन गरेको हो । ०७९ फागुन १७ गते प्रदेशको नाम ‘कोशी’ राखिएपछि पहिचान पक्षधरले पहिचानको आधारमा प्रदेशको नाम राखिनु पर्छ भन्दै आन्दोलनलाई जारी राखेका छन् ।
आन्दोलनका क्रममा गत चैत ५ गते विराटनगरमा भएको वृहत्त जनप्रदर्शनमा घाइते भएका पदम लिम्बू (लाजेहाङ) को गत चैत १० गते उपचारका क्रममा निधन भइसकेको छ । लिम्बूलाई सरकारले सहीद घोषणा समेत गरिसकेको छ भने सोही दिनको शोकलाई शक्तिमा बद्लेर आन्दोलन अघि बढाउन पहिचानका लागि युवा घोषणा गरिएको किरात राई यायोक्खाका उप–महासचिव एवं आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) १ नम्वर प्रदेश समितिका निवर्तमान अध्यक्ष अर्जुन जम्नेली राईले बताएका छन् ।
पहिचानसहितको प्रदेशको नाम माग गर्दा वर्तमान प्रदेश सरकारले प्रहरी लगाएर दमन गरेकोे बताउँदै उप-महासचिव जम्नेलीले भने–‘यसमा कति पनि विचलित नभई लक्ष्य प्राप्ति नभएसम्म अघि बढ्ने छौं ।’ रचनात्मक ढंगले आन्दोलन व्यवस्थित गर्ने उद्देश्यका साथ पहिचानका लागि युवा दस्ता घोषणा गरिएको उनको भनाइ छ ।
जम्नेलीका अनुसार अनुशासित ढंगबाट किरात राई यायोक्खाको नेतृत्वमा किराँत फोर्स,संजुहाङ पालुङ्वा नेतृत्वमा काङसोरे फोर्स साथै कुमार लिङ्देन नेतृत्वमा एलभी फोर्स रहेको छ । त्यसैगरी किराँत याक्थुङ चुम्लुङका संघीय अध्यक्ष प्रेम यक्तेङले प्रदेशको नाम ऐतिहाशिक पृष्ठभूमि र पहिचानको आधारमा नभएसम्म कुनै पनि हालतमा आन्दोलन नरोकिने बताए ।
विद्रोहलाई निष्कर्षमा पु¥याउन समेत पहिचानका लगि युवा आवश्यक रहेको बताउँदै चुम्लुङका संघीय अध्यक्ष यक्तेनले भने–‘दुई महिना भन्दा बढी लड्दा पनि प्रदेश सरकार मौन रहेको छ, यसको जवाफ हामी चाँडै दिन्छौं ।’ शान्तिपूर्ण आन्दोलन गर्दा राज्य पक्षबाट अश्रुग्यास, प्लाष्टिकको गोली प्रहार गर्ने र आन्दोलनकारी विरुद्ध आइलाग्ने कार्य भैरहेको छ । यसरी राज्यपक्षले गरिरहेका दमन विरुद्ध शान्तिपूर्ण ढंगले जवाफ दिन ‘पहिचानका लागि युवा घोषणा गरी सार्वजानिक गरिएको अध्यक्ष यक्तेनले बताएका छन् ।
यसै विच जनता समाजवादी पार्टी प्रदेश समितिले शुक्रवार विज्ञप्ती जारी गरेर यहि जेठ १४ गते प्रदेश नं.१ पुनः नामंकन संयुक्त संघर्ष समितिले प्रदेश राजधानी विराटनगरमा आव्हान गरेको शान्तिपूर्ण विरोध प्रदर्शनमा पार्टीको तर्फबाट सहभागी हुन् पार्टी मातहतका सवै समितिलाई आव्हान गरेको छ । विज्ञप्तीमा भनेको छ–‘हिक्मत कार्की नेतृत्वको प्रदेश सरकारले आम प्रदेशवासीको भावाना र चाहाना विपरित सरोकारवाला पक्षहरुसंग कुनै छलफल र परामर्श विना गुरिल्ला शैलीमा प्रदेश नं.१ लाई कोशी प्रदेश नामकरण गरेर द्धन्द्ध सृजना गरेको छ ।’
पहिचान, इतिहाँस, संस्कृति, राजनीतिक निरन्तरता र आम प्रदेशवासी पहिचान पक्षधरहरुको माग, मुद्धा, भावाना, चाहाना, आकांक्षा विरुद्ध राखिएको ‘कोशी’ नाम तत्काल खारेज गरेर पहिचानको आधारमा प्रदेश नं.१ नाम ‘किराँत–लिम्वुवा–शेर्पालुङ‘ राखिनु पर्ने विज्ञप्तिमा जोड दिइएको छ । विज्ञप्तिमा जनता समाजवादी पार्टी प्रदेश नं.१ का अध्यक्ष दिपक याखाले हस्ताक्षर गरेका छन् ।

- Dhankutapreess