धनकुटा प्रेस सम्वाददाता
छिन्ताङ/गठबन्धनमा लागेका धनकुटाका बामपन्थीहरुलाई छिन्ताङ्गका शहीदका आफन्तहरुले हत्याराको आरोप लगाएका छन् ।
०३६ सालमा तत्कालिन पञ्चायती शासकहरुद्वारा हत्या गरिएका खाल्सा क्षेत्रका शहीदहरुको सम्झनामा नेकपा एमाले सहिदभूमी गाउँ कमिटीले मंगलबार छिन्ताङमा आयोजना गरेको कार्यक्रममा उनीहरुले यस्तो आरोप लगाएका हुन् । अघिल्लो बर्षहरुमा झैं यस वर्ष पनि धनकुटाका एमाले नेता तथा कार्यकर्ताहरुले सहिदहरुको सम्झनामा छिन्ताङको पन्चकन्यामा रहेको सहिद पार्कमा कार्यक्रम आयोजना गरेर उनीहरुको परिवारलाई सम्मान गरेको छ ।
सहिद दिवशको अवसरमा आयोजित सम्मान कार्यक्रम पछि बोल्दै सहिद परिवारका तर्फबाट सहिद हाङ्गखिमा राईकी छोरा भलकमान राईले गठबन्धनमा जोडिएका धनकुटाका बामपन्थीहरु प्रति आक्रोश पोखे । उनले धनकुटाबाट प्रतिनिधि सभाका उम्मेदवार सुनिल बहादुर थापालाई प्रश्न गर्दै भने–‘०३६ सालमा मतदाता मारेर अहिले उनैकै परिवारलाई भोट माग्ने ?’
थापाका बुवा पुर्व प्रधानमन्त्री स्व.सूर्यबहादुर थापाले खाल्सा जनताले अधिकारको माग गर्दा आँखिसल्ला, खोकु र छिन्ताङ्गका जनताको हत्या गरेका थिए । उनले आज तिनै थापका छोरा सुनिलबहादुर थापालाई यहाँका जनतासंग भोट माग्ने कुनै अधिकार नभएको उनको भनाई थियो । छिन्ताङ्ग क्षेत्रका जनता मार्ने थापाका छोरालाई सहयोग गर्ने धनकुटाका बामपन्थीहरु सबै हत्यारा रहेको राईको तर्क थियो ।

कार्यक्रममा एमालेका तर्फबाट संघिय सांसदका उम्मेदवार राजेन्द्र कुमार राई, प्रदेश ‘क’ का उम्मेदवार निरन राई र एमालेकी केन्द्रिय सदस्य सकुन्तला बस्नेत लगायतले सहिदहरुको शालिकमा माल्यार्पण गरेका थिए । त्यसै गरी उनीहरुले सहिद परिवारलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
एमाले सहिदभूमी गाउँपालिकाका उपाध्यक्ष मातृका राईको अध्यक्षतामा सम्पन्न भएको स्मृति सभामा पार्टीका केन्द्रिय सल्लाहाकार समिति सदस्य गोपाल गुरागाई, प्रदेश कमिटी सदस्यहरु उज्ज्वल किराँती र सिमा राई, जिल्ला उप–सचिव सुष्मा किराँतीको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रदेश सभा समानुपातिक उम्मेदवार तारा तितुङ्ग तामाङ, जिल्ला प्रचार बिभाग प्रमुख सावित्रा राई लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा शहिदभूमी गाउँपालिकाका सयौं नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा सहिदभूमी गाउँपालिकाका अध्यक्ष मनोज राई, धनकुटा नगरपालिकाका उपमेयर भीमादेवी खनालको पनि उपस्थिति रहेको थिए । छिन्ताङ्गका सहिदहरुको सम्झनामा हरेक बर्ष नेकपा माओवादी र नेकपा एमालले पन्चकन्या पार्कमा छुट्टाछुट्टै कार्यक्रम गर्दै आएको छ ।
०३६ सालको भोकमरी बिरुद्ध किसानहरुले गरेको आन्दोलनमा तात्कालिन पन्चायती ब्यबस्थामा स्व.सूर्यबहादुर थापा प्रधानमन्त्री भएको बेला खोकू आखिसल्ला र छिन्ताङ्गका १६ जनाको बिभत्स हत्या गरिएको थियो । ०३६ सालमा गोपाल आनन्द राई, गंगाबहादुर तुप्रिहा, भैरवबहादुर खालिङ, बलबहादुर खत्री, पुत्रमान राई, केशरबहादुर राई, लाखमान साधु राई, टंकबहादुर विश्वकर्मा, रणध्वज पुमा राई, गणेशबहादुर विश्वकर्मा, हाङखिमा साइँली (श्रीमाया राई), झगेन्द्र राई, धनवीर दर्जी, चन्द्रबहादुर दमाई, रामकुमारी राई र गम्भीरमान दर्र्जीको हत्या भएको थियो ।
- Dhankutapress