धनकुटा प्रेस सम्वाददाता
धनकुटा/यतिखेर कसरी हुन्छ, मतदाताहरुलाई आफ्नो पक्षमा पार्नको लागी यहाँका राजनितिक पार्टीहरु चुनावी मैदानमा उत्रिएका छन् । जिल्लाको विभिन्न पालिकाहरुमा एकातर्फ नेकपा एमाले एक्लै र एमाले विरुद्ध संयुक्त गठवन्धनले आफ्नो उम्मेदवारलाई जिताउनको लागी शक्ति प्रदर्शन गर्दै यतिखेर भोट मागी रहेका छन् । लाग्छ उनीहरु यति खेर जस्तो सुकै अवस्था आई लागे पनि सामदाम दण्ड भेदको नीति अपनाएर भए पनि चुनाव मैदानमा भिड्न तयार छन् ।
१ लाख, ६३ हजार, ४ सय १२ जनसंख्या रहेको धनकुटामा १ लाख, १५ हजार, ९ सय ६३ मतदाता रहेका छन् । निर्वाचनको लागी १ सय १८ मतदान स्थल र १ सय ५९ मतदान केन्द्र रहेको छ । सात तहको विभिन्न पदमा एमाले, गठवन्धन र स्वतन्त्र गरी ७ सय, ६५ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । जिल्लाको ६० वटा वडा र पालिकामा गरी ३ सय, ६४ जना जनप्रतिनिधिहरु आगामी वैसाख–३० गते निर्वाचित हुदैछन् । यी पदहरुमा जित हातपार्नको लागी यहाँका उम्मेदवारहरु हजारौ कार्यकर्ताहरुलाई पछि लगाएर गीतसंगीत, नृत्य र वाजागाजा सहित भोट मागी रहेका छन् ।

यसैक्रममा आईतवार जिल्ला सदरमुकाम धनकुटा वजारमा नेकपा एमालेको तर्फबाट धनकुटा नगरपालिकाको प्रमुख पदका उम्मेदवार चिन्तन तामाङ र उपमेर भीमा खनालले घरदैलो कार्यक्रम गर्दै भोट मागेका छन् । उनीहरुले धनकुटा नगरपालिकाको वडा नं.५,६ र ७ का वडाध्यक्ष र सदस्यहरु सहितले संयुक्त रुपमा भोट मागे । तिनै वडाबाट हजारौंको संख्यामा मतदाताहरुलाई घरदैलो कार्यक्रममा सहभागी गराएर भोट मागे । उनीहरुले धनकुटा नगरपालिकाको हुलाकटोल, सिरवानी, विचवजार, सिरान वजार, माथिल्लो कोप्चे, तल्लो कोप्चे, विहिवारे,चिरविरे चौतारा लगायतका स्थानमा मतदाताहरुको घरमा पुगेर भोट मागेका छन् ।

घरदैलो कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सल्लाहकार समिति सदस्य गोपाल गुरागाँई, प्रतिनिधि सभा सदस्य राजेन्द्र कुमार राई, प्रदेश सदस्य निरन राई लगातयका शिर्ष नेताहरुको सहभागीता रहेको थियो । मदनचोकबाट शुरु भएको घरदैलो कार्यक्रमलाई नेकपा एमालेका केन्द्रिय सदस्य एवं प्रतिनिधि सभा सदस्य राजेन्द्र कुमार राईले सम्वोधन गरेका थिए । उनले धनकुटा नगरपालिकामा मात्र हैन जिल्लाको सातै तहमा नेकपा एमालेले सानदार जित हासिल गर्ने दावी गरे । उनले नेकपा एमाले सुतेको बाघ हो, सुतेको बाघलाई चलायो भने के हुन्छ भन्ने कुरा गठवन्धनले वैसाख–३० गते धनकुटामा थाहा पाउने वताए । धनकुटेली जनता नेकपा एमालेलेलाई भोट दिन आत्तुर रहेको राईको भनाई थियो । कार्यक्रमको संयोजन नेकपा एमाले नगर कमिटी धनकुटाका अध्यक्ष अर्जुन छाराहाङले गरेका थिए । धनकुटा नगरपालिकमा २२ हजार, ९ सय, ७१ मतदाता रहेका छन् । ०७४ को निर्वाचनमा नेकपा एमालेका तर्फबाट धनकुटा नगरका उम्ेमदवार भनेका चिन्तन तामाङले कांग्रेसका उम्मेदवार दिनेश राईलाई १ सय १४ मतको अन्तरले पराजित गरेका थिए । अहिले पनि पुनः तामाङ र राई विच चुनावी भिडन्त हुँदैछ ।
- dhankutapress