धनकुटा प्रेस सम्वाददाता
धनकुटा/आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा धनकुटा जिल्लाको ७ वटै स्थानिय तहमा उम्मेद्धारी दर्ता भएको छ ।
जिल्लाभर एमालेले एक्लै उम्मेदवारी दिएको छ भने सत्ता साझेदार गठबन्धनमा कतै साझा उम्मेदवारी परेको छ भने कतै एकल उम्मेदवारी पनि परेको छ । स्थानीय तह भागबन्डामा कुरो नमिलेपछि गठबन्धनमा आबद्ध दलहरू मध्ये जसपा धनकुटाको मेयर र उप–मेयरमा उम्मेदवारी परेको छ ।
धनकुटा नगरपालिकाको प्रमुख पदमा नगरपालिकाका निवर्तमान नगर प्रमुख चिन्तन तामाङले नेकपा एमालेबाट प्रमुख पदमा उम्मेदवारी दिएका छन । उप प्रमुखमा एमालेले भीमा खनालको उम्मेदवारी दिएको छ । धनकुटा नगरपालिकामा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका जिल्ला सभापति दिनेश आठपहरिया राईले प्रमुख पदमा उम्मेदवारी दर्ता गराएका छन । गठबन्धनबाट उपप्रमुखमा माओवादीका गणेश विष्टले उम्मेदवारी दर्ता गराएका छन । यस्तै धनकुटा नगरपालिकामा जनता समाजवादी पार्टीले गोपाल लिम्बूले प्रमुखमा र सरकुमारी आठपहरियाले उपप्रमुखमा उम्मेदवारी दिएका छन । राप्रपाबाट सुमिना तामाङले प्रमुखमा, राप्रपा नेपालबाट उपप्रमुखमा सुदिप सिजालीले उम्मेदवारी दिएका छन । यस्तै नगरपालिकामा स्वतन्त्रबाट सुन्दरबाबु श्रेष्ठले प्रमुखमा र सिताराम श्रेष्ठले उपप्रमुखमा उम्मेदवारी दिएका छन ।
यता पाख्रिवास नगरपालिकामा गठबन्धनको तर्फबाट प्रमुखमा कांग्रेशका ज्ञानबहादुर गुरुङ र उपप्रमुखमा माओवादी केन्द्रका ओमप्रकाश निरौलाले उम्मेदवारी दिएका छन भने एमालेले भीम राईलाई प्रमुखमा र नम्रता देउजाले उमप्रमुखमा उम्मेदवार बनाएको छ । गठबन्धनमा कुरा नमिलेपछि नेकपा एकीकृत समाजवादीका गोपाल बराईलीले प्रमुखमा तथा सावित्रा घिमिरेले उपप्रमुखमा मनोनयन दर्ता गराएका छन ।
यस्तै महालक्ष्मी नगरपालिकामा गठबन्धनको तर्फबाट प्रमुखमा कांग्रेशका ध्रुवराज राया र उपमेयरमा माओवादीका प्रेम खड्काले उम्मेदवारी दिएका छन भने एमालेले दीपक बुढाथोकीलाई प्रमुखमा मञ्जु कार्कीलाई उपप्रमुखको उम्मेदवार बनाएको छ । गठबन्धनमा कुरा नमिलेपछि नेकपा एकीकृत समाजवादीका खगेन्द्र सुवेदीले उपप्रमुखमा मनोनयन दर्ता गराएका छन ।
सहिदभूमि गाउँपालिकामा गठबन्धनको तर्फबाट अध्यक्षमा माओवादीका भरतसिह राई र उपाध्यक्षमा कांग्रेशका तोर्ण खड्काले उम्मेदवारी दिएका छन भने एमालेले पुनः मनोज राईलाई अध्यक्षमा र रत्नश्वरी राईलाई उपाध्यक्षको उम्मेदवार बनाएको छ । गठबन्धनमा कुरा नमिलेपछि नेकपा एकीकृत समाजवादीका जेवी राईले अध्यक्षमा मनोनयन दर्ता गराएका छन । छथर जोरपाटी गाउँपालिकामा गठबन्धनको तर्फबाट अध्यक्षमा कांग्रेशका छत्र सुब्बा र उपाध्यक्षमा माओवादीकी गीता गुरुङ खेवाले उम्मेदवारी दिएका छन भने एमालेले शेर बहादुर लिम्बूलाई अध्यक्षमा र गोमा कार्कीलाई उपाध्यक्षको उम्मेदवार बनाएको छ ।
साँगुरीगढी गाउँपालिकामा गठबन्धनको तर्फबाट अध्यक्षमा कांग्रेशका जितेन्द्र रुम्दाली राई र उपाध्यक्षमा जनता समाजवादी पार्टीले लिलाराज लावतीलाई उपाध्यक्षमा उम्मेदवारी दिएका छन भने एमालेले कुमार जंग याखालाई अध्यक्षमा र उपाध्यक्षमा मुना राईलाई उम्मेदवार बनाएको छ। राप्रपाबाट नगेन्द्र राईले मनोनयन दर्ता गराएका छन।
चौविसे गाउँपालिकामा गठबन्धनको तर्फबाट अध्यक्षमा माओवादीका दलबहादुर मगरले र उपाध्यक्षमा जनता समाजवादीकी दिवा चेम्जोङले उम्मेदवारी दिएका छन भने एमालेले राजकुमार चेम्जोङलाई अध्यक्षमा टंकमाया मगरले उपाध्यक्षको उम्मेदवार बनाएको छ ।
- dhankutapress