धनकुटा प्रेस सम्वाददाता
धनकुटा/जिल्ला समन्वय समिति धनकुटाको सनिवार सम्पन्न निर्वाचनमा नेकपा एमालेका निरेन तामाङ निर्वाचित भएका छन् । त्यसैगरी उप–प्रमुखमा नेकपा एमालेकी सावित्रा राईले विजयी हासिल गरेकी छन् । यो जितसंगै नेकपा एमाले जिल्ला समन्वय समिति धनकुटामा प्यानलै विजयी भएको हो ।

मुख्य निर्वाचन अधिकृत फडिन्द्र प्रसाद पराजुलीसंग सामुहिक तस्विर लिदैं समन्वय प्रमुख निरेन तामाङ लगायत अन्य नवनिर्वाचित पदाधिकारीहरु ।
चौध मत रहेको जिल्ला समन्वय समितिको निर्वाचनमा ९ मत प्राप्त गरी एमालेका युवा नेता निरेन तामाङ विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका उम्मेदवार हर्क चेम्जोङले ५ मत प्राप्त गरेका छन् । उप–प्रमुखमा एमालेकी नेतृ सावित्रा राईले पनि ९ मत प्राप्त गरेर विजयी हासिल गरेकी छन् । उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसकी मन्जु कार्कीले ४ मत प्राप्त गरेकी थिईन ।
नेकपा एमालेबाट जिल्ला समन्वय समितिमा निर्वाचित हुने सदस्यहरुमा रविन्द्र न्यौपाने, कमलकुमारी लिम्बू, नेत्र भण्डारी, बालकुमारी रुचाल, सिता भण्डारी बराल, इन्दिरा सुब्बा याख्खा र टीकाराम दर्लामी मगर रहेका छन् । समन्वय समितिको ९ पदको लागी भएको निर्वाचनमा एमाले र नेपाली कांग्रेसले सवै पदमा आ–आफ्नो पार्टीको उम्मेदवार उठाएको थिए ।
यता नेपाली कांग्रेसका जिल्ला समन्वय समितिका प्रत्यासी सदस्यहरु कुशुम जोशीले ५ मत, डम्बर कुमारी अधिकारीले ५ मत, सरिता खत्री भण्डारीले ४ मत, बिमला राईले ५ मत, सुशिल कुमार मगरले ५ मत, सुष्मा गुरुङले ५ मत र दुर्गा दर्जीले ५ मत ल्याएका छन् । धनकुटामा रहेका ७ स्थानीय तहमा प्रमुख तथा अध्यक्ष र उप–प्रमुख तथा उपाध्यक्ष गरि १४ जना मतदाता जिल्ला समन्वय समितिमा रहेका थिए ।
धनकुटाका स्थानीय तह प्रमुख तथा अध्यक्षमा एमालेका ३ जना र कांग्रेसका ४ जना रहेका छन् । स्थानीय तह उप–प्रमुख तथा उपाध्यक्षमा एमालेका ६ जना र माओवादी केन्द्रका १ जना रहेका थिए । नेकपा एमालेको कुल ९ मत सहित वहुमतमा रहेको थियो । जस अन्तर्गत नेकपा एमालेका सवै उम्मेदवारहरुले ९/९ मत प्राप्त गरेका छन् ।
मुख्य निर्वाचन अधिकृतद्धारा समन्वय प्रमुखको सफत ग्रहण सम्पन्न :
मुख्य निर्वाचन अधिकृत फडिन्द्र प्रसाद पराजुली समन्वय प्रमुख निरेन तामाङलाई पद तथा गोपनियताको सफत ग्रहण गराउनु हुँदै /
यसैविच नवनिर्वाचित जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरेन तितुङ तामाङलाई मुख्य निर्वाचन अधिकृत फडिन्द्र प्रसाद पराजुलीले सनिवार नै पद तथा गोपनियताको सफत ग्रहण गराएका छन् । नव निर्वाचित जिल्ला समन्वय प्रमुख निरेन तितुङ तामाङले आफ्नो पदभार ग्रहण तथा उप–प्रमुख लगायत अन्य सदस्यहरुको सफत ग्रहण कार्यक्रम आगामी सोमवार हुने बताएका छन् ।
- dhankutapress