धनकुटा प्रेस अनलाईन
धनकुटा/उमेरले ८० काटेका, शारिरिक रुपमा अशक्त, शिक्षा तथा साहित्य क्षेत्रमा लामो समयसम्म योगदान पु¥याएका धनकुटाका २४ जनालाई एक समारोहको विच सम्मान गरिएको छ ।
नेपाल निवृत शिक्षक समाज धनकुटाले सनिवार धनकुटामा एक समारोहको आयोजना गरेर शिक्षा क्षेत्रमा जीवनभर योगदान गरेर निवृत भएका व्यक्तित्वहरुलाई सम्मान गरेको हो । उनीहरुलाई समाज रुपान्तरणमा अतुलनिय योगदान गरेको भन्दै समाजको प्रथम जिल्ला अधिवेशनको अवसर पारेर सम्मान गरेको हो ।
सम्मानित हुनेहरुमा वि.सं.२०२९ साल पौष २९ गते देखि ०५७ साल फागुणसम्म शिक्षक सेवा गरी निवृत भएका धनकुटा नगरपालिका वडा नं.५ का वर्ष ८४ का हेमचन्द्र भण्डारीलाई सम्मान पत्र र दोसल्ला ओडाएर सम्मान गरिएको छ । त्यसैगरी तत्कालिन पुर्व क्षेत्रिय शिक्षा निर्देशक धनकुटा–६ निवासी दामोदर दाहाललाई पनि सम्मान गरिएको छ । त्यसैगरी वि.सं.२०२३ साल देखि ०४९ सालमा सेवा निवृत भएका सशिदभूमि गाउँपालिका आँखिसल्लाका पुर्व शिक्षक तिलक प्रसाद राईलाई पनि सम्मान गरिएको छ ।
त्यसैगरी शिक्षा समन्वय ईकाई सुनसरीका पुर्व समन्वय इकाई प्रमुख उप–सचिव रमेश दाहाल, धनकुटा–५ घर भएका नेपाल प्रहरीका पुर्व डिआइजी दिनेश आमत्य, घनश्याम बराल, मान वहादुर मिश्र, रामचन्द्र गुरागाँई, वोधनाथ काफ्ले लगायत विभिन्न पालिकाहरुमा निवृत जीवन विताईरहेका २४ जनालाई सम्मान गरिएको छ ।
समाजको प्रथम जिल्ला अधिवेशनको उद्धघाटन समारोहलाई सम्वोधन गर्दै प्रमुख अतिथि प्रदेश नं.१ का प्रदेशसभा सदस्य इन्द्रमणी पराजुलीले समाज रुपान्तरणको लागि शिक्षकहरुले गरेको योगदान उच्च रहेको बताए । उनले सेवा निवृत शिक्षकहरुको योगदानलाई आजको पुस्ताले सम्झेर सम्मान गर्नु आफैमा सकरात्मक पक्ष भएको वताए । नेपाल निवृत शिक्षक समाज धनकुटाका तदर्थ समितिका अध्यक्ष देव वहादुर खड्काको अध्यक्षतामा सम्पन्न प्रथम जिल्ला भेलाको समुद्धघाटन सत्रमा कार्यक्रमका विशेष अतिथि धनकुटा जिल्ला समन्वय प्रमुख निरेन तामाङले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
सो अवसरमा सहायक प्रमुख जिल्ला अधिकारी अन्जन कुमार न्यौपाने, नेपाल निवृत शिक्षक समाज केन्द्रिय समितका उपाध्यक्ष चुडामणी देवकोटा, प्रदेश अध्यक्ष शिवराम कोईराला, सम्मानित व्यक्तित्व पूर्व उप–सचिव रमेश दाहाल, पुर्व प्रधानाध्यापक एवं समाजसेवी कृष्ण व्लोन तामाङ, नेपाल शिक्षक संघका धनकुटा अध्यक्ष थिरेन्द्र लिम्वू, गंगाराम ढुङ्गाना लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
- Dhankutapress