धनकुटा प्रेस अनलाईन खवर सम्वाददाता
धनकुटा/ धनकुटा नगरको विभिन्न वडामा घरेलु उद्योगको क्षेत्रमा उद्यमी बनेर आर्थिक समृद्धिका लागि पु¥याई रहेको योगदानलाई कदर गर्दै खोज, अनुशन्धान एवं लेखन गरी प्रकाशन गरिएको १९ जना उद्यमीहरुको सफलताको कथाहरुको सँगालो ‘नगर समृद्धिको सारथि भाग–२’ विमोचन गरिएको हो ।
पुस्तकको धनकुटा नगरका प्रमुख चिन्तन तामाङ, कोशी प्रदेससभाका सचिव गोपाल प्रसाद पराजुली, वडा नं. १० का वडाध्यक्ष नगेन्द्र पाण्डे, वडा नं.७ का वडाध्यक्ष रोषेश श्रेष्ठ, धनपाका निमिक्त प्रमुख प्रशासकिय अधिकृत नगेन्द्रमणि श्रेष्ठ, धनकुटा वहुमुखी क्याम्पसका सह–प्राध्यापक डा.यज्ञप्रसाद गुरागाँई, धनकुटा नगरपालिकाका प्रशासन तथा योजना अनुगमन शाखाका प्रमुख सीताराम गौतम, उद्योग वाणिज्य संघ धनकुटाका अध्यक्ष विजयसन्तोषी राईले संयुक्त रुपमा एक समारोहको विच ‘नगर समृद्धिका सारथि भाग–२’ को विमोचन गरेका हुन् ।
बिमोचन समारोहका प्रमुख अतिथि एवं धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले धनकुटा नगरपालिकाले उद्यमीहरुको सफलताको कथा लेखेर ‘नगर समृद्धिका सारथि भाग–२’ मा दस्तावेजिकरण गरिएको बताए । उनले लघु तथा घरेलु उद्योगको क्षेत्रमा उद्यमीहरुले नगर क्षेत्रमा आर्थिक समृद्धिको लागि गरेको योगदानको उच्च कदर एवं मूल्याङ्गकन गर्दै १९ जना उद्यमीहरुको सफलताको कथा नगर समृद्धिका सारथि भाग–२ मा समेटिएको बताए । आधारभूत तहको जनता आर्थिक रुपमा नउठेसम्म आर्थिक समृद्धि कुनै पनि हालतमा नहुने ठोकुवा गर्दे नगर प्रमुख तामाङले भने–‘उद्यमी तपाईहरु अघि वढ्नुहोस, नगरपालिकाको तर्फबाट सहयोग गर्न हामी तयार छौं ।’
उनले तिन तहको सरकार भन्ने समन्वय, सहकार्य र सह–अस्तित्वको कुरा गरेर स्थानिय सरकारलाई लगाम लगाउने काम ठिक नभएको बताए । तामाङले सरकारमा बसेर देश चलाउनेहरुले अबको दिनमा सहि ढंगले देश र जनताको हितमा काम गरेनन् भने कुनै न कुनै दिन जनताले विद्रोह गर्ने चेतावानी दिए । विमोचन समारोहलाई सम्वोधन गर्दै कार्यक्रमका विशेष अतिथि प्रदेससभाका सचिव गोपालप्रसाद पराजुलीले भने–‘नेपालीहरुले गरिबी र पछौटेपन विरुद्ध आर्थिक समृद्धिका लागि लड्नु पर्छ ।’ उनले तिनै तहको सरकारले दिगो नीति नबनाएसम्म आर्थिक समृद्धि सम्भव नहुने बताए । उनले प्रदेसलाई बलियो बनाउनको लागि तिनै तहको सरकार जिम्मेवार हुनु पर्नेमा जोड दिए ।
धनकुटा वहुमुखी क्याम्पसका सह–प्राध्यापक डा. यज्ञप्रसाद गुरागाँईले पुस्तक माथि परिचर्चा गरेका थिए । उनले नगर समृद्धिका सारथि भाग–२ ले २ वटा शन्देस दिएको बताए । उनले भने–‘एउटा हामी स्थानिय तहमै वसेर स्थानिय कच्चा पदार्थलाई नै सदुपयोग गरेर उद्योग संचालन गर्न सक्छौं र उद्योग व्यवसायबाट आय आर्जन गर्न सक्छौं ।’ ‘यस्का लागि हामी अन्त काँही टाढा जानु पर्दै धनकुटा नगरपालिका भित्रै प्रचुर सम्भावना छ भन्ने शन्देश दिएको छ’–डा.गुरागाँईले भने । धनकुटा नगरका आर्थिक विकास अधिकृत विकास अधिकारीले पुस्तक प्रकाशनको लक्ष्य, उदेश्य र भावि योजनाको वारेमा प्रष्ट पारेका थिए ।
मनकामना मिडिया हाउस धनकुटाका प्रवन्धक सन्तवीर लामाको अध्यक्षतामा सम्पन्न नगर समृद्धिका सारथि भाग–२ विमोचन एवं शुभकामना आदन–प्रदान कार्यक्रममा धनपाका उप-प्रमुख भीमादेवी खनाल, निमिक्त प्रमुख प्रशासकिय अधिकृत नगेन्द्रमणि श्रेष्ठ, उद्यमीहरुको तर्फबाट धनकुटा न.पा.–६ का कविता फलफूल प्रशोधन उद्योगका संचालक महिला उद्यमी विष्णुमाया कन्दङ्गवा, उदोग वाणिज्य संघ धनकुटाका अध्यक्ष विजय सन्तोषी राई लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । यस अघि मनकामना मडिया हाउस धनकुटाले आ.व.०७८/०७९ मा नगर समृद्धिका सारथि भाग–१ प्रकाशन गरि सकेको छ ।
- dhankutapress