धनकुटा प्रेस सम्वाददाता
धनकुटा/कानूनी रुपमा प्रतिबन्धित लागूऔषध गाँजा खेतीलाई प्रवद्र्धन गर्ने उदेश्यले धनकुटाको छिन्ताङमा आयोजना गरिएको गाजा मेलामा अतिथिको रुपमा सहभागी प्रहरी निरिक्षक सहितको प्रहरी टाली विभागिय कार्वाहीमा परेको छ ।
जिल्ला प्रहरी कार्यालयले आयोजित गाजा मेलामा उद्धघाटन सत्रमा सहभागी भै अतिथि बनेका नेपाल प्रहरीका दुई अधिकृतलाई विभागीय कारबाही थालिएको वताइएको छ । धनकुटाको सहिदभूमि गाउँपालिका वडा नं.–२ छिन्ताङको अखुवाटारमा गत आइतबारदेखि मंगलबारसम्म आयोजित ‘गाँजाबारे बृहत् छलफल र सचेतना मेला’ उद्घाटन कार्यक्रमका अतिथि इलाका प्रशासन कार्यालय छिन्ताङका इन्चार्ज प्रहरी निरीक्षक काजीबहादुर बस्नेत र प्रहरी चौकी त्रिवेणीका इन्चार्ज सहायक निरीक्षक कुमार कटुवाल जिल्ला तानिएका हुन् ।
दुवैलाई विभागीय कारबाहीका लागि तानिएको कार्यालयका निमित्त सूचना अधिकारी एवं इन्स्पेक्टर काशीनाथ रेग्मीले बताए । मुलुकमा गाँजा प्रतिबन्धित छ । तर, वैधानिक अभियान बनाउने अभियानका केन्द्रीय सल्लाहकार राजीव काफ्लेले गाँजाकै बिरुवामा पानी हालेर तिन दिने मेलाको समुद्धघाटन गरेका थिए । कानुनी रुपमा प्रतिवन्धित लागु औषध गाँजाको मेला लगाएरै प्रवद्र्धन गर्ने उदेश्यले पहिलो पटक धनकुटामा आयोजना गरिएको कार्यक्रमलाई विभिन्न कोणबाट आंकलन गर्न थालिएको छ । प्रहरीले पनि उक्त कार्यक्रमलाई गम्भिर ढंगले लिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख लक्ष्मीराज अधिकारीले बताएका छन् ।
- dhankutapress