धनकुटा प्रेस सम्वाददाता
धनकुटा/प्रदेश नं.१ का स्वास्थ्य मन्त्री निर्मला लिम्वुले स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा भ्रष्टचार नगरी काम गर्न स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।
मन्त्री लिम्वुले प्रदेश स्वास्थ्य निर्देशनालय, आयुर्वेद औषधालय, स्वास्थ्य कार्यालय, प्रदेश स्वास्थ्य तालिम केन्द्र र धनकुटा अस्पतालका कार्यालय प्रमुख र कर्मचारीहरुलाइ धनकुटामा शुक्रवार आयोजित एक कार्यक्रममा यस्तो निर्देशन दिएका हुन् ।
मन्त्री लिम्वुले प्रदेश नं.१ मा स्वास्थ्य मन्त्री भएपछि रणनतिक रुपमा १४ वटै जिल्लाको सरकारी स्वास्थ्य संस्थाहरुको स्थलगत अनुगमन तथा निरिक्षण गरिरहेका छन् । यसै क्रममा धनकुटामा पनि प्रदेश सरकारको मन्त्रालय स्तरबाट स्वास्थ्य सचिव डा.अनुज भट्टचन सहितको टोलीले स्थलगत रुपमा अनुगमन गरेका हुन् ।
प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाले आयोजना गरेको अर्धवार्षिक प्रगती प्रतिवेदन सार्वजानिक कार्यक्रममा वोल्दै मन्त्री लिम्वुले भने–‘स्वास्थ्य र शिक्षामा वढी भ्रष्टचार हुन्छ भनेको सुनेको छु, यस्मा कर्मचारीहरुले जिम्मेवार भएर काम गरेर सहयोग गर्नु पर्छ ।’ स्वास्थ्य क्षेत्रमा धेरै चुनौतिहरु रहेको औल्याउँदै मन्त्री लिम्वुले थपे–‘स्वास्थ्य उपचार पाउनु नागरिकको नैसर्गिक अधिकार भएकोले स्वास्थ्यकर्मीहरुले कर्तव्य वोध भएर काम गर्न म अनुरोध गर्दछु ।’
उनले प्रदेश नं.१ सरकारले स्वास्थ्य क्षेत्रलाई वढी भन्दा वढी जिम्मेवार र उत्तरदायी वनाउन स्वा्स्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेको वताए । यो वर्षको वजेट कार्यक्रम कम रहेको स्मरण गराउँदै आगामी वर्ष देखि स्वास्थ्य क्षेत्रमा वजेटको अभाव नहुने गरी कार्यक्रम वनाउने मन्त्री लिम्वुले वताए । अनुगमनको क्रममा मन्त्री लिम्वुले प्रदेश स्वास्थ्य कार्यालय, तालिम केन्द्र, स्वास्थ्य कार्यालय,आयुर्वेद अस्पताल, धनकुटा अस्पतालको प्रत्यक्ष रुपमा अनुगमन समेत गरेका छन् । अनुगमनको क्रममा धनकुटा अस्पतालको विरामी उपचार गर्ने वार्ड रहेको कोठाहरु फोहोर रहेको भन्दै सफा राख्न निर्देशन दिएका छन् ।
यसैक्रममा प्रदेश स्वास्थ्य मन्त्रालयका स्वास्थ्य सचिव डा. अनुज भट्टचनले अरु मन्त्रालय भन्दा नमूना मन्त्रालयको रुपमा स्थापित गर्न जिम्मेवार र इमान्दार भएर कार्य सम्पादन गर्न अनुरोध गरेका छन् । उनले स्थानिय तहको हात र खुट्टा जस्तो भएर स्वास्थ्यकर्मीहरुलाई काम गर्न सूझाव दिए । उनले तत्कालै प्रदेश स्वास्थ्य मन्त्रालयले १४ वटै जिल्लाको स्वास्थ्य कार्यालय प्रमुखहरु र अस्पताल विकास समितिका अध्यक्षहरुलाई वोलाएर वृहत छलफल गरेर स्वास्थ्य क्षेत्रलाई कसरी प्रभावकारी वनाउन सकिन्छ भन्ने वारे छलफल आयोजना गर्ने वताए ।
आयोजित कार्यक्रममा प्रदेश स्वास्थ्य निदेशनालय धनकुटाका निर्देशक ज्ञानेन्द्र वहादुर वस्नेत, तालिम केन्द्रका निर्देशक रोहित पाण्डे, जिल्ला अस्पताल धनकुटाका मेडिकल सुपरिटेण्डेन्ट डा.अमिताभ ठाकुर, आयूर्वेद अस्पतालका प्रमुख सूर्य नारयण मेहेता र स्वास्थ्य कार्यालय धनकुटाका निमिक्त कार्यालय प्रमुख गोकुल भण्डारीले चालु आ.व.को श्रावण देखि पौष मसान्तसम्मको कार्यालयले गरेको प्रगति प्रतिवेदन प्रश्तुत् गरेका थिए ।
- Dhankutapress