धनकुटा प्रेस सम्वाददाता
धनकुटा/दलका नेता तथा कार्यकर्ताहरुलाई चुनाब लागि रहेको भएपनि धनकुटा नगरपालिकामा मात्र बसोबास गर्दै आएका आठपहरियाहरू यतिबेला आफ्नो प्रमुख चाड वाडाङ्मी र खाल्सा क्षेत्रमा बसोबास गर्ने राई जाति पापानी चाड मनाउन व्यस्त छन् ।
धनकुटाका आठपहरिया जातिको वाडाङ्मी पर्बमा खुशियालीको हर्षबढाइँ गर्ने तथा सबै दुःखबाट उक्सिने मुख्य पर्वको रुपमा मान्छन् भने खाल्सा क्षेत्रका राईहरु पापानी नयाँ बाली भित्रिएको खुसीयालीमा मनाउने गर्दछन । आठपहरियाहरुको वर्ष भरिमा परेको मृत्यु शोक सामूहिक रुपमा उकास्ने यो एक मात्र पर्व पनि हो मंसिरे चाड वाडाङ्मी ।
धनकुटामा यतिबेला स्थानिय बाजागाजाले सुसज्जित भएको छ । स्थानीय बाजागाजा गीत नाच इष्ट देवताको पूजा र खानपिनले धनकुटा जिल्लामा मात्र बसोवास रहेको आठपहरिया जाति वढाङमी चाड मनाइरहँदा खाल्सा क्षेत्रका राईहरू पनि पापानी चाडमा रमाइरहेका छन । वाडाङ्मीमा वर्षभरिमा मृत्यु हुनेहरुका परिवारका सम्पूर्ण सदस्य तीन दिन हिँडेर सुनसरीको बराहक्षेत्र स्थित कोकाहा खोलामा नुहाएर कपाल, दाह्री मुण्डन गरि बराह भगवानको दर्शन गरि बरखी फुकाउने चलन रहेको छ । यो चाडमा आफन्तको दुःख बोक्नेले कपाल काटेर दसि सहित केश बगाउने प्रचलन रहेको छ ।
तीन दिने यात्राको क्रममा बरखी फुकाउने व्यक्तिले खोलाको बगर तथा खुल्ला ठाउँमा बस्नुपर्ने र अन्य समयमा गाउन नमिल्ने मुन्धुम तथा भक्ति गाउने चलन रहेको आठपहरिया समाज अगुवा डिल्लीमान आठपहरियाले बताए । उनले सत्य युग देखि नै आठपहरियाका पुर्खाहरुले दुःख वगाएर घरघरमा वत्ति राखि सकेपछि सरस्वती गाएर नाँच (वाडाङमेट भैलो) खेल्ने र अन्त्य गर्नु भन्दा पहिलो दिन नाँच समापन गर्ने गरिएको वताए । उनले उक्त दिन पुर्खाहरुको सम्झनामा सिंगै गाउँ मिलेर राँगा काटेर नुन् नहाली पकाएर खाने र प्रसादको रुपमा सवैले घर÷घर मासु लाने प्रचलन रहेको वताए ।
यो चाडमा दुःख विर्सिएर भक्ति गाउनुका साथै ढोल, मारुनी, गोलोे नाँच नाँचेर तथा राँगाको मासु, कुबिन्डो र फिलुगें अचार लगायतका परिकार खाएर मनाइन्छ । कात्तिक पुर्णिमाबाट सुरु भएको यो चाड औंसीसम्म जारी रहन्छ । अन्य जातजातिको भन्दा फरक कला सँस्कृति भएपनि यसको भने जस्तो प्रचारप्रसार हुन सकेको छैन ।
यो पर्वलाई अन्य जातिको पर्व जस्तो राज्यले चासो नदिएको आठपहरिया समाजका केन्द्रिय अध्यक्ष सरकुमारी आठपहरियाले वताईन । यता धनकुटा नगरपालिकाले भने यो जातिको उत्थानका लागि विभिन्न काम गरिरहेको सरकुमारीले बताईन । धनकुटा नगरपालिकामा मात्र बसोबास रहेको यो जातिको जनसंख्या करिब ३५ हजारको हाराहारीमा मात्र रहेको छ । यो जातिले आफूलाई आदिबासी जनजातिमा सूचीकृत गरिनुपर्ने माग राख्दै आएपनि सुनुवाई नभएको गुनासो उनीहरुको छ ।
शहीदभूमिका राईलाई पापानी चाडको रौनक :
धनकुटाको सहिदभूमि गाउँपालिकाको खाल्सा क्षेत्रका राईहरु पापानी चाड मनाउन व्यस्त छन । कात्तिक पूर्णिमा पछिको मंगलबारबाट सहिदभूमि ३ मा रहेको साकेन्वा थानमा पुजा गरी यो पर्व सुरु गरीन्छ । नयाँ बाली भित्रिएको खुसियालीमा ६ दिन ६ रातसम्म नाँचगान गरी धनकुटाको सहिदभूमि गाउँपालिकामा पापानी चाड मनाउने गरिएको छ ।
यो पर्वमा किराँत राईहरुले कुलदेवताको पूजा गर्नुका साथै ढोल, झ्याम्टा बजाउदै लहरै कुम जोडेर नाच्ने गरेका छन् । पापानी नाँच नाँच्दा सवै जना एकापसमा गोलो घेरा भएर खुट्टा तीन कदम अगाडी र तीन कदम पछाडी सारेर नाच्ने गरिएको छ ।
यो पर्व सहिदभूमि गाउँपालिकाको आँखिसल्लाका छिलिङराई, छिन्ताङका नाम्सिहाङ राई र खोकुका राईका विभिन्न पाछाका माङला हेरेर महत्वपूर्ण पर्वको रुपमा मनाउने गरिएको छ । पछिल्लो समय यो पापानी नाँच लोप हुने क्रममा रहेकाले यसको संरक्षण लागि पहल गरेको सहिदभूमि गाउँपालिकाका अध्यक्ष मनोज राईले बताए ।
खाल्सा क्षेत्रका छिन्ताङ, आखिसल्ला र खोकुका राई जाति सांस्कृतिक धरोहरको रुपमा आआफ्नो चाडपर्व मनाउने गरेका छन । यसको संरक्षणमा राज्यले अन्य पर्वको जस्तो चासो नदिएको उनीहरूको गुनासो छ ।
- Dhankutapress