धनकुटा प्रेस अनलाईन सम्वाददाता
धनकुटा/धनकुटाको पाख्रीवास नगरपालिका वडा नं.५ डिकुरे डाँडामा वौद्ध गुम्वा निर्माण कार्य सम्पन्न भएको ६ महिना वित्दा पनि संचालनमा ल्याउन नसकिएको स्थानियले गुनासो गरेका छन् ।
डिकुरे डाँडा वौद्ध माने स्तुपा संरक्षण तथा सम्वद्र्धन समितिका अध्यक्ष मान वहादुर तामाङकानुसार–‘गुम्वा निर्माण गर्ने जिम्मा लिएका निर्माण व्यवसायी अशन राईले स्थानिय कामदारहरुलाई काम लगाएर भूक्तानी नदिई पैसा लिएर फरार भएपछि गुम्वा संचालनमा नआएको हो ।’ अध्यक्ष मान वहादुरले भने–‘गुम्बा निर्माणको क्रममा काम गरेका स्थानिय पहलमान तामाङको ४ लाख, ५० हजार, लाल वहादुर तामाङको ९० हजार, सुनमाया तामाङको ३६ हजार र जीवन तामाङको १५ हजार गरी जम्मा ५ लाख, २१ हजार रुपयाँ भुक्तानी बाँकी छ ।’ उनले थपे–‘उनीहरुले निर्माण व्यवसायीले काम गरेको पैसा नदिएसम्म गुम्वा खोल्न नदिदै भन्दै गुम्बामा ताला लगाई दिएका छन् ।’ काम गर्ने कामदारको भुक्तानी नरोकियोस भनेर आर्थिक वर्ष अन्त्य नभै ०८० असारको १८ गते नै नगरपालिकामा निदेदन दिएको अध्यक्ष तामाङले धनकुटा प्रेसलाई जानकारी दिए ।
करिव २ वर्ष गुम्वामा काम गर्दा पनि अन्तिममा भूक्तानी नपाएका स्थानिय पहलमान तामाङले भने–‘मलाई निर्माण व्यवसायी अशन राईले फकाई फकाई काम लगाए, तर, नगरपालिकाबाट भूक्तानी लिएपछि पैसा नदिई सम्पर्क विहिन भएका छन् ।’ आफूले गुम्बाको मुल ढोका, दायाँ वायाँ राखिएका झ्यालका सखुवाका काठहरु दिनुको साथै महिनौंसम्म श्रम गरेको सहित ४ लाख, ५० हजार रुपयाँ भूक्तानी नपाएको गुनासो गरे । ‘मलाई निर्माण व्यवसायी अशन राईले नगरपालिकामा वोलाएर ४ लाख, ५० हजार रुपयाँ दिनु पर्नेमा ३ लाखको बाउन्नस चेक दिएर गयो’–पहलमानले भने । ’त्यो पनि वैंकमा नसाटिए पछि वाउन्नस चेक भन्ने थाहा पाए, पटक–पटक फोन गरे, धरानमा वस्छ भन्ने थाहा पाएर गए, तर पनि भेटिन‘–पहलमानले थपे ।
उनले केही गर्दा पनि ३ लाख रुपयाँको चेक नसाटिए पछि जिल्ला प्रहरी कार्यालय, धनकुटा मार्फत ठेकेदार अशन राईलाई चेक वाउन्नस विरुद्ध अदालतमा मुद्धा समेत दायर गरेको बताए । पहलमानले भने–‘मैले ४ लाख,५० हजार रुपयाँ नपाएसम्म गुम्वा संचालनमा ल्याउन नदिने भनेर गुम्वाको मूल ढोकामा ताला समेत लगाई दिएको छु ।’ यता डिकुरे डाँडा वौद्ध माने स्तुपा संरक्षण तथा सम्वद्र्धन समितिका सदस्य मेख वहादुर घिसिङ तामाङले भने निर्माण व्यवसायी अशन राईले गुम्वा निर्माणको काम नसकि नगरपालिकाबाट पैसा लिएर फरार भएको आरोप लगाएका छन् । तामाङले भने–‘गुम्वा निर्माण गर्ने व्यवसायीले खानेपानी, विधुत जडान नगरेको भन्दै पाख्रीवास नगरपालिकामा समितिको तर्फबाट निवेदन दिएको छु ।’ उनले त्यसको साथै गुम्वामा जाने सिढी तथा गेटको फिनिसिङ्ग नगरेको, पर्खालामा रंग नलगाएको, गुम्वासम्म जाने सिढीको दायाँ वायाँ गमला राख्ने काम सम्पन्न नगरेको बताएका छन् ।
सो विषयमा, पाख्रीवास नगरपालिका प्रमुख ज्ञान वहादुर गुरुङसंग धनकुटा प्रेसले कुराकानी गर्दा उनले भने–स्थानिय कामदारहरुले पैसा नपाएको भनेर नगरपालिमा उजुरी परेपछि हाम्रै अगाडी ठेकेदार अशन राईलाई चेक काट्न लगाएको हौं, तर खातामा पेसा नभएको चेक दिएछ ।’ वाउन्न्स चेक कामदारहरुले पाएपछि आफ्नै सहयोगमा जिल्ला प्रहरी कार्यालय धनकुटामा समन्वय गरेर अदालतमा मुद्धाको प्रक्रिया निज ठेकेदार अशन राई विरुद्ध अघि वढाइएको नगर प्रमुख गुरुङ्गले बताए ।
पाख्रीवास नगरपलिकाका प्रमुख प्रशासकिय अधिकृत गोर्ख वहादुर तामाङले गुम्वाको निर्माण कार्यको जिम्मा लिएको रोयल सार्क कन्ट्रक्सन एण्ड सप्लायर्स प्रा.लि. धरान–१३ सम्झौता र प्राविधिक स्टेमेट वमोजिम गुम्वाको निर्माण कार्य सकेर भुक्तानी लगेको बताए । आ.व.०७८÷०७९ को स्वीकृत वजेट तथा कार्यक्रम मध्येबाट प्रदेश सरकार र नगरपालिकाको गरी ७१ लाख, ४२ हजार वरावरको ठेक्काको कुल स्टेमेट थियो । प्रा.लि.ले ठेक्का प्रक्रियाबाट वोलपत्र आव्हान हुँदा ४१ लाख, ५४ हजार, ४ सय रुपयाँमा ०७८ कार्तिक ३० गते भ्याट सहित सम्झौता गरेको थियो । भ्याट वाहेक भने ३८ लाख, ८२ हजार, ७ सय, ९२ रुपयाँमा योजना सम्झौता भएको थियो । उनले निर्माण व्यवसायीले भूक्तानी नदिएको विषयमा न.पा. जानकारी भएपछि चेक काट्न लगाइएको वताए । तर, चेक वाउन्न्स भएको छ । ‘यस्मा नगरपालिकाले कार्वाहीको लागि पहल गरिरहेको छ’–प्रशासकिय अधिकृत तामाङले थपे ।
योजना सम्झौता भए मध्ये प्रदेश सरकारको २३ लाख, २१ हजार, ६ सय र पाख्रीवास नगरपालिकाको १५ लाख, ४७ हजार, ७ सय गरी कुल लागत ३८ लाख, ६९ हजार, ४ सय रुपया मात्र भुक्तानी भएको भौतिक पूर्वाधार विकास शाखाका प्रमुख इन्जिनियर परशुराम श्रेष्ठले बताए । उनले २ लाख, ८५ हजार रुपयाँ स्टामेट अनुसारको काम निर्माण कम्पनीले सम्पन्न नगरेकाले भुक्तानी नदिएको बताए ।

पहिलो सम्झौता अनुसार निर्माण कम्पनीले ०७८ चैत्र ३० गते गुम्बाका निर्माण कार्य सक्नु पर्ने थियो । प्रा.लि.ले पुनः म्याद थप गरेर ०७९ माघ १० गते गुम्वाको निर्माण कार्य सकेको भनिए पनि असार मसान्तमा मात्र पाख्रीवास नगरपालिकाले भुक्तानी दिएको थियो । रोयल सार्क कन्ट्रक्सन एण्ड सप्लायर्स प्रा.लि. धरानले तोकिएको समयमा गुम्वाको निर्माण कार्य नसकेकाले ६ लाख, ७० हजार बराबरको हर्जना नगरपालिकालाई तिरेको इन्जिनियर श्रेष्ठले धनकुटा प्रेसलाई वताए । गुम्वा निर्माण परियोजनाको प्राविधिक स्टामेट अनुसार ९३ प्रतिसत काम सम्पन्न गरेको र ७ प्रतिसत मात्र काम बाँकी रहेको इन्जिनियर श्रेष्ठको भनाई रहेको छ । उनले प्रा.लि.ले गुम्वामा वत्ति, पानी लगायतको काम सम्पन्न गरेको भए पनि शौचालयमा जाने रेलिङको काम नगरेकाले पैसा काटि दिएको बताए ।
त्यसको अतिरिक्त डिकुरे वौद्ध गुम्वालाई राम्रो वनाउनको लागि गुम्वा भन्दा केहि तल भ्यागुते ढुङ्गामा प्रधान कन्ट्रक्सन धनकुटा–५ ले आ.व.०७८÷०७९ मा १० लाख, ४४ हजार, ६ सय ७२ रुपयाँमा योजना सम्झौता गरेर पार्कको निर्माण कार्य सम्पन्न गरेको इन्जिनियर श्रेष्ठले बताए । उनले सम्झौता अनुसारको पार्कमा रिटेनिङ्ग वाल, होम पाईप राख्ने र गमला राख्ने काम सम्पन्न गर्दा ९ लाख, ११ हजार, ७ सय रुपयाँ भुक्तानी भएको वताएका छन् । उनले सार्क कन्ट्रक्सन प्रा.लि. धरानको नाममा पाख्रीवास नगरपालिकाका अझै ४ लाख, ४१ हजार धरौटी वापतको रकम रहेकाले कामदार कोहि कसैको अझै पनि भूक्तानी बाँकी भए मिलाउन सकिने आश्वासन दिएका छन् ।
भूक्तानीको विषयमा जानकारी लिन रोयल सार्क कन्ट्रक्सन एण्ड सप्लायर्स प्रा.लि. धरान–१३ का निर्माण व्यवसायी अशन राईको मोवाईल नं.९८१०५९८७२७ र ९८४२१५६८३२ मा धनकुटा प्रेसले सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।
- Dhankutapress