धनकुटा प्रेस अनलाईन सम्वाददाता
धनकुटा/साकेला उभौली तथा वुद्ध जयन्तीको अवसर पारेर धनकुटाका पहिचानवादीहरुले कोशी प्रदेश नामंकन विरुद्ध साँस्कृतिक आन्दोलन गर्ने उद्धघोष गरेका छन् ।
कोशी प्रदेश नामंकन विरुद्ध धनकुटामा गठित संघर्ष समितिमा आवद्ध किराँत राई यायोखा, किराँत आठपहरिया स्वयत्त क्षेत्र र किराँत याक्थुङ चुम्लुङ लगायत एकल जातिय संस्थाहरुले कोशी प्रदेश खारेज नगरेसम्म आन्दोलन जारी राख्ने भन्दै सनिवार यस्तो उद्धघोष गरेका हुन् । उनीहरुले साकेला उभौली तथा वुद्ध जयन्तीको अवसर पारेर धनकुटाको मदनचोकमा सोकला नाच्दै संयुक्त रुपमा यस्तो निर्णय गरेका हुन् ।
कार्यक्रमलाई सम्वोधन गर्दै नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद धनकुटाका अध्यक्ष एवं कोशी प्रदेश नामंकन विरुद्ध खारेजीको लागि धनकुटामा गठित संघर्ष समितिका संयोजक संजय सन्तोषी राईले ठूला भनिएका पार्टीका हरुवा, चरुवाहरुले प्रदेशवासीको भावना विपरित नाम राखेकोले आन्दोलन गर्नु परेको स्पष्ट गरे ।
उनले १ नम्वर प्रदेशको सिङ्गो सभ्यतालाई ओझेलमा पार्ने गरी भारतिय ऋषिमुनीहरुको नाममा प्र्रदेशको नामांकन गरेको प्रति घोर आपत्ति जनाए । अध्यक्ष राईले भने–‘अहिले शान्तिपूर्ण रुपमा भैरहेको आन्दोलनलाई प्रदेश सरकारले दवाउने तिर लाग्नुको सट्टा मागलाई तत्काल सम्वोधन गर्नु पर्छ, इटाको जवाफ् पत्थरले दिने दिन आउँदैछ ।’
त्यसैगरी खाल्सा छिन्ताङ सहिदभूमि क्षेत्रका पहिचानी अभियान्ता भरत सिंह राईले किराँत राज्य हुँदा नेपाल आएका शरणार्थिहरुले यहाँका भूमिपुत्रहरुको पहिचान मेटाउन खोजेको आरोप लगाए । उनले भने–‘कोशी शब्द आफै जातिय, सम्प्रदायिक भएकाले सिङ्गो सभ्यतालाई सम्वोधन हुने गरी कोशी प्रदेश खारेज गरी पुनः नामंकन गर्नु पर्छ ।’
धनकुटा बजारको मदनचोकमा आयोजित कार्यक्रममा वोल्दै राईले भने–‘किराँत प्रदेश हुँदा किराँतीहरुको मात्र हालीमुहाली हुन्छ भनेर कसैले नसोची दिन म सम्पूर्णलाई आग्रह गर्दछु ।’ राईले भने–‘पहिचानको आन्दोलन अहिलेसम्म सामान्य ढंगले भैरहेको छ, यस्लाई प्रदेश सरकारले चाँडै सम्वोधन गर्नु पर्छ,अन्यथा यसबाट हुन आउने घट्नाको जिम्मेवारी प्रदेश सरकारले नै लिनु पर्छ ।’ सो कार्यक्रममा जनता समाजवदी पार्टी जिल्ला धनकुटाका सचिव डम्वर कटुवाल, आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) १ नम्वर प्रदेशका अध्यक्ष सन्तवीर लामा, नेपाल आदिवासी जनजाति महासंघ धनकुटाका पुर्व अध्यक्ष पार्वती राई, किराँत याक्थुङ चुम्लुङ जिल्ला समिति धनकुटाका अध्यक्ष हेमु स्मृति चोङवाङ्ग, नगर अध्यक्ष खड्ग लिम्वु, संघर्ष समितिका सचिव डम्वर खवाहाङ, जसपाका यूवा नेता निशान किराँती आदिले सम्वोधन गरेका थिए ।
सो अवसरमा किरँत याक्थुङ चुम्लुङ नगर समिति धनकुटाले लिम्वु जातिको केलाङ नृत्य, तामाङ घेदुङ नगर समिति धनकुटाले तामाङ जातिको डम्फू सेलो प्रश्तुत् गरिएको थियो । त्यसैगरी किराँत कुलुङ भाषा संस्कार संस्कृति उत्थान संघ धनकुटाले पनि उभौली नृत्य प्रश्तुत् गरेको थियो । किराँत राई यायोखा जिल्ला समिति धनकुटाले राई जातिको केलाङ नृत्य प्रश्तुत् गरेको संघर्ष समितिका सदस्य एवं यायोखा धनकुटाका अध्यक्ष उद्धवमणी राईले बताए । कार्यक्रमको संचालन जनता समाजवादी पार्टी नेपाल धनकुटाका जिल्ला उपाध्यक्ष गोपाल लिम्वुले गरेका थिए ।

- Dhankutapress