धनकुटा प्रेस अनलाईन खवर सम्वाददाता
धनकुटा/आदिवासी जनजातिहरुको हराउँदै गएको मौलिक संस्कृतिहरु नयाँ पुस्ताको लागि मार्ग दर्शन बन्न सके भोली दिनमा समुदायमा स्थापित हुने मंगलवार यहाँ आयोजित एक कार्यक्रमका वक्ताहरुले वताएका छन् ।
किराँत याक्थुङ चुम्लुङ जिल्ला र नगर समिति धनकुटाले चासोक तङ्नाम–०८० को अवसरमा आयोजना गरेको शुभकामना आदन प्रदान तथा सम्मान कार्यक्रममा वोल्ने वक्ताहरुले यस्तो वताएका हुन् । शुभकामना आदन प्रदान तथा सम्मान कार्यक्रमलाई सम्वोधन गर्दै किराँत याक्थुङ चुम्लुङ्ग संघीय समिति सदस्य चन्द्रसिं नेम्वाङ्गले आदिवासी जनजातिहरुको मौलिक संस्कार, संस्कृतिहरुलाई युगयुगसम्म बचाएर राख्न अलिहेका युवा पुस्तालाई हस्तान्तरण गर्नु पर्नेमा जोड दिए ।
उनले हरेक जातिको भाषा, संस्कार, संस्कृतिलाई जोगाई राख्न राज्यले लगानी गर्नु पर्नेमा जोड दिए । नेम्वाङ्गले भने–‘यो वर्ष झै आगामी वर्ष पनि चासोक तङ्नाम यसरी नै मनाउन पाइयोस भन्दै सम्पूर्ण सहभागीलाई शुभकामना दिन्छु ।’ एमालेका नेता समेत रहेका नेम्वाङ्गले भाषा, लिपि, संस्कार, संस्कृति जोगाउन सके मात्र पहिचान जोगिने भएकाले पहिचानको लागि एक भएर अघि वढ्नु पर्नेमा जोड दिए ।
किराँत याक्थुङ चुम्लुङ नगर समिति धनकुटाका अध्यक्ष नेमराज ताम्लीङ लिम्वुको अध्यक्षतामा धनकुटा न.पा.–५ को कर्मिटार स्थित् फनपार्कमा सम्पन्न शुभकाममना आदन प्रदान कार्यक्रममा चुम्लुङ्गका अर्का संघीय सदस्य सञ्चु सम्वाहाम्फे, आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद धनकुटाका अध्यक्ष संजय सन्तोषी राई, फोनिज प्रदेश अध्यक्ष सन्तवीर लामा, चुम्लुङका धनकुटा जिल्लाका पुर्व सचिव घनेन्द्र तुम्बाहाङ, किराँत याक्थुङ चुम्लुङका पुर्व केन्द्रिय सचिव हेमकुमार आङ्गला, चुम्लुङका आजिवन सदस्य धर्मराजराज थोक्लेन लगायतलले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
सो अवसरमा गत तिहार तथा वलिहाङ्ग तङ्गनामको वेला देउसी खेलेर सहयोग गर्ने धनकुटा नगर क्षेत्रका विभिन्न विद्यालयहरुमा अध्ययनरत १७ जना छात्र–छात्राहरुलाई नगद सहित प्रमाणपत्रले सम्मान गरिएको थियो । सम्मानित हुने छात्रछात्राहरुलाई प्रमुख अतिथि नेम्वाङ्ग, विशेष अतिथि सम्वहाम्फे, फोनिज अध्यक्ष लामा लगायतले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए ।
किराँत याक्थुङ चुम्लुङ नगर समिति धनकुटाले स्थापना गरेको अक्षयकोषबाट छात्र–छात्रालाई पुरस्कार प्रदान गरिएको नगर सचिव डम्बर खवाहाङ्गले बताए । कार्यक्रममा लिम्वु जातिको मौलिक नृत्य, केलाङ (ढोल) नाच र धाननाच समेत प्रश्तुत् गरिएको थियो । कार्यक्रमको संचालन चुम्लुङका जिल्ला सचिव एवं कलाकार हेमु स्मृति चोङवाङ र नगर सचिव डम्वर खवाहाङ्ग लिम्वुले गरेका थिए ।
यसै विच किराँत राई यायोखा जिल्ला कार्य समिति, धनकुटाले साकेला उधौली पर्व–०८० को अवसरमा धनकुटा–६ मा रहेको माङ्गखिममा पुजाआज गरेको छ । साथै, साकेला नाच र वाडङ्गमेट समेत नाचिएको थियो । शुभकामना आदन प्रदान तथा औपचारिक कायृक्रम भने आगामी पौष १४ गते धनकुटाको टुडिखेलमा आयोजना गरिने किराँत राई यायोखा धनकुटा जिल्ला अध्यक्ष उद्धवमणी राई वताए । जिल्ला अध्यक्ष उद्धवमणी राईको अध्यक्षतमा सम्पन्न साकेला तथा वाडङ्गमेट नृत्यमा सहभागी पूर्व सिक्किम पाक्योङ्ग जिल्लाको रिवारिकेप माङ्गखिमबाट आएका पदाधिकारी एसवी राई लगायतको टोलीलाई फेटा गुथेर सम्मान गरिएको थियो ।

- Dhankutapress