धनकुटा प्रेस अनलाईन सम्वाददाता
धनकुटा/मगर र तामाङ जातिको विवाहको विषयमा विवादस्पद अभिव्यक्ति दिने अधिवक्ता भगवती पाण्डेलाई कानुनी कार्वाहीको माग गर्दा सोमवार धनकुटामा विरोध प्रदर्शन गरिएको छ ।
नेपाल मगर संघ र नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समितिले संयुक्त रुपमा अधिवक्ता पाण्डेलाई हदैसम्मको कार्वाहीको माग गर्दै गृहमन्त्री नारयणकाजी श्रेष्ठलाई धनकुटाका प्रमुख जिल्ला अधिकारी मार्फत प्रदर्शनसंगै ज्ञापन पत्र पठाएका छन् । जिल्ला घेदुङका अध्यक्ष पेमा लामा र मगर संघका जिल्ला अध्यक्ष तोर्ण खपाङ्गी मगरद्धारा हस्ताक्षरित ज्ञापन पत्र प्रजिअ गौतम मार्फत नेपाल सरकारका गृहमन्त्रीलाई पठाइएको हो ।
सो क्रममा घेदुङका संघीय समिति सदस्य विष्णु मोक्तान, घेदुङका निवर्तमान संघीय सदस्य लालचन्द्र गोङवा, प्रदेश उपाध्यक्ष गंगाराम गोम्देन, मगर संघका जिल्ला अध्यक्ष तोर्ण खपाङ्गी मगर, फोनिज प्रदेश नं.१ का अध्यक्ष सन्तवीर लामा, तामाङ पत्रकार संघका केन्द्रिय सदस्य एवं प्रदेश नं.१ इन्चार्ज मानवी मोक्तान, जिल्ला घेदुङका सचिव गजम घिसिङ लगायतको सहभागिता रहेको थियो ।
प्राईम टेलिभिजनद्वारा प्रसारित चिया गफ कार्यक्रममा सितल भन्ने अधिवक्ता भगवती पाण्डेले गत श्रावण–७ गते सिङ्गो तामाङ मगर लगायत आदिवासी जनजाति समुदायको प्रथाजनित अभ्यासप्रति गलत ढंगले व्याख्या गरेको उनीहरुको आरोप छ । साथै, उनीहरुले अनुवांशिक रुपमा नै समस्त समुदायलाई अपराधीकरण गर्ने र मान्छेलाई जनावरसँग तुलना गर्नेगरी दिएको कपोलकल्पित, भ्रामक र तथ्यहिन अभिव्यक्तिले समूदायको आत्मसम्मान र प्रतिष्ठामा गम्भीर चोट पुगाएको ज्ञापन पत्रमा उल्लेख छ । उनीहरुले निजलाई अभिव्यक्ति सच्याउन पटकपटक आग्रह गर्दासमेत अटेर गरेपछि वाध्य भएर कानुनी उपचारको लागि अघि वढ्दा पनि सम्मानित अदालतले समेत वेवास्ता गरेपछि देशव्यापी आन्दोलनमा उत्रिनु परेको स्पष्ट पारेका छन् ।
उनीहरुले न्यायको लागि घोषित आन्दोलनप्रति ऐक्यवद्धता, समर्थन जुटाइदिन र आवाज उठाइदिन सम्पूर्ण मानवअधिकारकर्मी, पत्रकार, नागरिक समाज तथा कानून व्यवसायीहरुलाई समेत ज्ञापन पत्र मार्फत हार्दिक आग्रह गरेका छन् ।
प्रजिअ गौतमलाई ज्ञापन हस्तान्तरण पश्चात जिल्ला प्रशासन कार्यालय धनकुटाको मुलगेटमा कोणसभा आयोजना गरिएको थियो । कोणसभालाई घेदुङका सघीय सदस्य विष्णु मोक्तान तामाङ, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद धनकुटाका अध्यक्ष संजय सन्तोषी राई, नेपाल मगर संघ धनकुटाका अध्यक्ष तोर्ण खपाङ्गीले सम्वोधन गरेका थिए ।
उनीहरुले विवादस्पद अभिव्यक्ति दिने भगवती पाण्डेलाई तत्काल पक्राउ गरी कार्वाही नगरे देशव्यापि रुपमा आन्दोलन गर्ने नेपाल सरकारलाई चेतावनी दिएका छन् । विरोध प्रर्दशनको क्रममा प्रहरी दमनको चर्को आलोचना गर्दै नारावाजी समेत गरेका थिए ।
यसैगरी संखुवासभा पनि......
तामाङ र मगर समुदायको प्रथाजनित अभ्यास प्रति गलत ढंगले व्याख्या गर्दै अपराधीकरण गर्नेगरी गत साउन ७गते प्राइम टेलिभिजनमा अभिव्यक्ति दिने अधिवक्ता पाण्डे र शान्तिपूर्ण आन्दोलनमा अनावश्यक बल प्रयोग गरी नियन्त्रणमा लिएर चरम यातना दिने प्रहरीलाई कारबाहीको माग गदैँ नेपाल तामाङ घेदुङ, नेपाल मगर संघ जिल्ला समन्वय समिति संखुवासभाले जिल्ला प्रशासन कार्यालय संखुवासभामा घेराउ,धर्ना तथा ज्ञापनपत्र वुझाएको छ । तामाङ घेदुङका अध्यक्ष काजीमान तामाङकानुसार शान्तिपूर्ण ढंगले संखुवासभा जिल्लाको सदरमुकाम खाँदवारी वजारमा कार्यक्रम सम्पन्न भएको वताएका छन् ।

- Dhankutapress