धनकुटा प्रेस सम्वाददाता
धनकुटा/जनता समाजवादी पार्टी धनकुटाले पार्टीबाट राजिनामा दिइसकेका र पार्टीको तर्फबाट साधरण सदस्य समेत नरहने गरि कार्वाहीमा परिसकेकाहरुको नाम जसपासंग जोडेर पार्टी प्रवेशको अनर्गल प्रचार भएको भन्दै आईतवार विज्ञप्ती जारी गरेर विरोध जनाएको छ ।
जारि विज्ञप्तीमा नयाँशक्ति पार्टीबाट समायोनजमा आएका वडाध्यक्ष घिमिरे लगायतलाई पार्टीले यस अघि नै साधरण सदस्य समेत नरहने गरि कार्वाही गरिसकेको जारि विज्ञप्तीमा उल्लेख गरिएको छ । पुर्व प्रधानमन्त्री डा.वावुराम भट्टराईको नयाँ शक्ति पार्टी समर्थक वडाध्यक्ष घिमिरे लगायतकाले गत श्रावण २२ गते आफू खुशी विज्ञप्ती जारि गरेर जसपा पार्टी परित्याग गरि अलग रहने घोषणा गरेका थिए ।
सोहि विषयलाई लिएर पार्टीको हित विपरित कार्य गरेको भन्दै जसपा धनकुटाले ०७९ भाद्र ११ गते वडाध्यक्ष विकास घिमिरे, श्रीराम रायमाझी, दिलकुमार राई लगायतलाई पार्टीको साधरण सदस्यता समेत नरहने गरि यस अघि नै पार्टीबाट निस्काशन गरि सकेको दावी गरेको छ । जसपाका कार्यवाहक जिल्ला अध्यक्ष पार्वती राई र सचिव डम्वर कटुवालद्धारा हस्ताक्षरित विज्ञप्तीमा पार्टीमा नरहेको र कार्वाहीमा परेकाहरुको कुनै पनि पार्टीमा प्रवेश गर्दा जसपा पार्टीको नाम जोडेर सामाजिक संजलामा केही कांग्रेसी साथिहरुले सस्तो लोकप्रियताको लागि प्रचार गरेको भन्दै ध्यानाआकर्षण भएको जनाइएको छ ।
विज्ञप्तीको अन्त्यमा भनिएको छ–‘सम्पुर्ण धनकुटेलीले आम न्यायप्रेमी पहिचानवादी समुदायलाई कोहि पनि विचलित नभई पहिचानको मुद्धामा एक ढिक्का भै अघि वढ्न, समन्वय र सहकार्य गर्न अनुरोध गर्दछौं ।’ साथै, संघियता, लोकतन्त्र, गणतन्त्र र सुशासन चाहाने आम धनकुटेली दाजुभाई दिदिवहिनीहरुलाई जसपा धनकुटाका कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रवेश गरेको भन्ने गलत भ्रममा नपरी दिन यसै विज्ञप्ती मार्फत अनुरोध गर्दछौं–विज्ञप्तीमा उल्लेख छ ।
जसपाका पुर्व नेता, कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश
जनता समाजवादी पार्टी (जसपा) बाट १ महिना अघि राजिनामा दिएर वसेका पुर्व जिल्ला उपाध्यक्ष घिमिरे सहित नेता–कार्यकर्ता शुक्रवार नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । जनता समाजवादी पार्टीका १ नम्वर प्रदेश समितिका पुर्व सदस्य समेत रहेका उपाध्यक्ष विकास घिमिरे, प्रदेश सदस्य तथा धनकुटा सचिब श्रीराम रायमाझी, पुर्व नगर अध्यक्ष दिलकुमार राई लगायत नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेका छन् ।
घिमिरे गएको स्थानीय तह निर्वाचनमा धनकुटा नगरपालिका वडा नं. ३ मा नेपाली कांग्रेसको चुनाव चिन्ह रुखबाट चुनाव लडेका निर्वाचित वडाध्यक्ष हुन् । त्यस्तै पुर्व नगर अध्यक्ष राई जसपाको कोटामा अल्पसंख्यकबाट धनकुटा नगर कार्यपालिका सदस्य भएका हुन् । नेपाली कांग्रेस धनकुटाको पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उनिहरु पार्टी प्रवेश गरेका हुन् । उनीहरुले गत श्रावण २३ गते प्रेस विज्ञप्ती जारि गरेर जनता समाजवादी पार्टीबाट राजीनामा दिई पार्टीबाट अलग भएको घोषणा गरेका थिए ।
त्यस्तै सोही अवसरमा नेकपा एमालेका पूर्वजिल्ला कमिटी सदस्य मेख बहादुर राई, पूर्व जिल्ला सदस्य भक्त थापा लगायतका एमाले र माओवादी पार्टी परित्याग गरी नेपाली कांग्रेस प्रवेश गरेका छन् । पाटी प्रवेश कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा कार्य सम्पादन समिति सदस्य पूर्वमन्त्री सुनिलवहादुर थापा, जिल्ला सभापति दिनेश राई लगायतले दोसल्ला र अविर लगाइ दिएर नवप्रवेशीहरुलाई स्वागत गरेका थिए ।
जनता समाजवादी पार्टी छाडेका घिमिरे लगायत अन्य नेता तथा कार्यकर्ताहरुलाई पार्टीले साधारण सदस्यता समेत नरहने गरि कारबाही गरेको थियो । धनकुटा नगरपालिका वडा नं.३ का वडाध्यक्ष विकास घिमिरेले आफूले स्थानिय तहको निर्वाचनमा चुनाव लड्दा नेपाली कांग्रेसकै चुनाव चिन्ह रुखबाट निर्वाचित भएकाले पार्टी प्रवेश गर्नु आफ्नो लागि अन्तिम विकल्प भएको वताएका छन् ।
- Dhankutapress