धनकुटा प्रेस अनलाईन खवर पत्रिका सम्वाददाता
विराटनगर/नेकपा एमाले १ नम्वर प्रदेश अधिवेशनको मिति नजिकिँदै जाँदा प्रदेश अध्यक्ष पदको लागि चार जना आकांक्षी मैदानमा उत्रिएका छन् ।
आगामी असोज १२ र १३ गतेका लागि तय भएको अधिवेशनमा अध्यक्षका लागि एमालेका पोलिटव्युरो सदस्य विनोद ढकाल, प्रदेश सचिवालय सदस्य घनश्याम खतिवडा, १ नम्बर प्रदेशका हालका अध्यक्ष तुलसीप्रसाद न्यौपाने र उपाध्यक्ष टिकाराम लिम्वु चेम्जोङले दौडधूप गरिरहेका छन् ।
१ नम्वर प्रदेश एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह प्रदेश हो । प्रदेश अध्यक्षलाई एमालेले पोलिटब्यूरो सदस्य सरहको हैसियत दिने व्यवस्था गरेपछि केन्द्रीय तहका नेताहरु समेत आकांक्षी देखिएका हुन् । प्रदेशमा सहमतिबाटै नेतृत्व चयन गर्न अन्तिम समयसम्म सर्वसम्मतिको प्रयास हुन्छ । सहमति हुन सकेन भने उच्च लोकतान्त्रिक अभ्यासबाट नेतृत्व चयन हुने एमाले स्थायी कमिटि सदस्य शेरधन राईले धनकुटा प्रेसलाई बताए।
पार्टी अध्यक्षको आकांक्षी देखिएका एमालेको १ नम्बर प्रदेश उपाध्यक्ष रहेका टिकाराम लिम्वु चेम्जोङ वि.सं. २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा निर्वाचित संविधान सभा सदस्य हुन् । धनकुटाको चौविसे गाउँपालिकाको वसन्तटार निवासी चेम्जोङ एमालेको बलियो खम्बाको रुपमा रहेका छन् । विशेष गरेर प्रदेशमा पहिचानको आन्दोलन चर्किरहेकाले पनि चेम्जोङ पार्टी नेतृत्वमा आउनै पर्ने परिस्थिति सृजना भएको वताइएको छ । पार्टी भित्र चेम्जोङलाई नै प्रदेशको जिम्मेवारी दिनु पर्छ भनेर एमाले पार्टी भित्र शिर्ष नेताहरु विच गम्भिर छलफल भैरहेको समचार स्रोतको दावी छ ।
वि.सं.२०५४ सालपछि देशभरी माधव नेपाल समूहको दवदवा भइरहेको वेलापनि धनकुटामा उनकै नेतृत्वमा ओली समुहले जिल्लाको नेतृत्व गरेको थियो । लामो समयदेखि ओली समूहमै रहँदै आएका उनी वि.सं.२०४९ सालमा जिल्ला विकास समितिको उप–सभापति, वि.सं.२०५४ सालमा जिल्ला विकास समितिको सभापति निर्वाचित भएका थिए । वि.सं.२०५४ सालमा पार्टी उप-सचिव र वि.सं.२०५७ सालमा सचिवमा निर्वाचित भई वि.सं.२०६६ सालसम्म एमाले धनकुटाको नेतृत्व गरिसकेका चेम्जोङ प्रदेश कै प्रभावशाली नेता हुन् ।
पार्टी अध्यक्षको चर्चामा रहेका विनोद ढकाल मोरङमा दुईपटक अध्यक्ष चलाएका व्यक्ति हुन् । उनी प्रदेशमा बलिया प्रतिस्पर्धी मानिन्छन् । विराटनगर स्थायी घर भएका ढकाल पार्टी भित्रका गुट राजनीति गर्ने व्यक्तिको सूचीमा रहेका छन् । संसदीय मोर्चाका सवै निर्वाचनमा हार्दै आएका ढकाल केन्द्रीय नेतृत्वले चाहेमा अध्यक्ष बन्न सक्छन् ।
मोरङकै लेटाङ निवासी प्रदेश सचिवालय सदस्य घनश्याम खतिवडा पनि पाका र पुराना एमाले नेता हुन् । एमालेमा लामो समय माधवकुमार नेपाल पक्षमा लागेका उनी पछिल्लो समय भने ओली क्याम्पमै बसेका थिए । उनी वि.सं.२०५४ सालमा मोरङ जिल्ला विकास समितिको सभापति र वि.सं.२०७४ सालको संसदीय निर्वाचनमा मोरङ क्षेत्र नं. १ बाट निर्वाचित सांसद हुन् ।
हाल अध्यक्ष रहेका तुलसीप्रसाद न्यौपाने संखुवासभा निवासी हुन् । वि.सं.२०५४ सालमा संखुवासभा जिल्ला विकास समितिको सभापति र वि.सं.२०७४ सालमा प्रदेशसभा सदस्यमा निर्वाचित भएका न्यौपाने सुरुमा माधव नेपाल निकट थिए । तर, पार्टी विभाजनको समयमा माधव कुमार नेपालको साथ छोड्दै न्यौपाने पनि एमालेमै रहे । उनी केही समय प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री समेत बनेका थिए ।
एमालेले प्रदेशको १४ जिल्ला, जनसंगठन र मनोनित गरेर १ हजार ४७ जना प्रतिनिधिहरु चयन हुनेछन् । अधिवेशनमा भूगोलबाट ९६२ जना, युवाबाट ५३, मजदुरबाट ३२ जना प्रतिनिधि छनौट हुँदा ३३४ जना महिला हुने एमाले प्रदेश उपाध्यक्ष एवं आगामी अशोज १२ र १३ गते हुने प्रदेश अधिवेशनका अध्यक्ष पदका प्रत्यास उमेदवार टिकाराम लिम्वु चेम्जोङले धनकुटा प्रेसलाई जानकारी दिएका छन् । ‘अहिले हामी अध्यक्षको लागि ४ जनाको तयारी छ, उमेदवार मनोनयन गर्ने बेलासम्ममा कति जना हुन्छौं त्यो पछि नै थाहा हुन्छ ।’–चेम्जोङले भने ।
- Dhankutapress