धनकुटा प्रेस अनलाईन सम्वाददाता
धनकुटा/जिल्लाको सहिदभूमि गाउँपालिका वडा नं.१ घर भएकी वर्ष ४० कि मुना राईको विषादी जंगल च्याउको सेवनको कारण विरामी परेपछि उपचारको क्रममा मृत्यु भएको छ ।
घट्ना जेष्ठ १५ गते सोमवार वेलुकीको हो । मृतक मुना राईका छिमेकीले जंगलवबाट ल्याएको जंगली च्याउ पकाएर खाएपछि उनका परिवार नै विरामी परेका थिए । च्याउ खाएर विरामी परेका मुना राईका परिवार जेष्ठ १६ गते मंगलवार विहान उपचारको लागि जिल्ला अस्पताल धनुकटा आईपुगेका थिए ।
विषादीयुक्त जंगली च्याउ सेवन गरेका कारण मुनाका श्रीमान वर्ष ३९ का एमजित राई र ६ बर्षिया छोरा सचिन राई पनि गम्भिर विरामी परेका थिए । तिनै जनाको जेष्ठ १५ गते देखि १९ गते विहानसम्म जिल्ला अस्पताल धनकुटामा उपचार गरिएको एमजितका आफन्त अमृत राईले बताए । छ वर्षिया नावालक सचिनलाई भने १८ गते साँझ नै जिल्ला अस्पताल धनकुटाबाट थप उपचारको लागि धरान रेफर गरिएको थियो ।
मृतक मुना र उनका श्रीमान एमजित राईलाई भने जेष्ठ १९ गते विहान थप उपचारको लागि विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान धनकुटा अस्पतालले रेफर गरेको थियो । मुना राईको उपचारको लागि विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लादै गर्दा अस्पतालमा पुग्नै नपाई बाटैमा शुक्रवार विहान करिव १० वजे मृत्यु भएको उनको आफन्त अमृत राईले बताए ।
विषाक्त जंगली च्याउको कारण छ वर्षिया बालकको चिन्ताजकज अवस्थामा विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको सघन उपचार कक्षमा भ्याण्टिलेटरमा राखेर उपचार भैरहेको छ । श्रीमान एमजितको स्वास्थ्य अवस्था भने सुधारउन्मुख र खतरामुक्त रहेको आफन्त अमृतले बताएका छन् ।
- Dhankutapress