धनकुटा प्रेस अनलाईन खवर सम्बाददाता
धनकुटा/धनकुटाको पाख्रिवासमा गए राती पहिरोले घर बगाउदा आमाछोरीको घट्ना स्थल मै मृत्यु भएको छ।
पाख्रिवास नगरपालिका वडा नं. ५ गुराँसे डाँडाको ३२ वर्षीया आशा तामाङ र उनकी आमा अन्दाजी ५० वर्षीया रामकुमारी तामाङको मृत्यु भएको हो। रामकुमारी ५ दिन अघि भोजपुरको भैंसीपंखा देखी छोरीको घरमा आएकी थिइन । उनको आईतवार भोजपुर घर जाने योजना थियो ।
बिहान करीब साढे ३ बजे तिर घर बगाउन लागेपछि घरमा रहेको सामान निकाल्न गएका आमाछोरीको पहिरोले पुरेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलय धनकुटाका प्रहरी निरीक्षक विष्णु खड्काले जानकारी दिए ।
यता धनकुटाको छथर जोरपाटी गाँउपालिका वडा नं.६ सिधुवामा पहिरोले गाई गोठ पुर्दा १० भन्दा बढी चौपाया पुरेको वडाध्यक्ष दीपक गुरुङले जानकारी दिए । उनका अनुसार सिधुवा बजार पछाडिबाट गएको पहिरोको कारण बजारका केही घर समेत जोखिममा परेका छन् ।
यस्तै निरन्तरको वर्षाले चौविसे गाउँपालिकामा छरुवा खोलामा आएको बाढीले पुल जोखिममा परेको छ भने तमोर करिडोर सडक निर्माणमा रहेको स्काभेटर पुरेको छ। यसैगरी बाढीले टिपर, जेनेरेटर बगाएको छ। रौता कन्ट्रक्सनको क्रसरमा बाढी पसेर मट्टीतेलको ट्यांकर पुरेको छ। भण्डारण गरेको अलकत्र बगाएको स्थानीय रोशन भण्डारीले बताए। निरन्तरको वर्षाको कारण तमोर करिडोर सडक बिहीबारदेखि र भेडेटार रवि राँके सडक शुक्रबारदेखि अवरुद्ध रहेको प्रहरीले जनाएको छ।
- dhankutapress