धनकुटा प्रेस सम्वाददाता
धनकुटा/नेपाल तामाङ घेदुङ नगर समिति, धनकुटाको अध्यक्षमा धनकुटा नगरपालिका वडा नं.६ कलेजरोड घर भएको यूवा व्यवसायी नरेश पाख्रिन चयन भएका छन् ।
घेदुङका बहालवाला अध्यक्ष कुल वहादुर तितुङ तामाङको ०८१ पौष ५ गते ७९ वर्षको उमेरमा दुःखद निभएपछि नेपाल तामाङ घेदुङ नगर समिति धनकुटाको सोमवार बसेको नियमित वैठकले युवा व्यवसायी पाख्रीनलाई सर्बसम्मत रुपमा अध्यक्ष पदमा चयन गरेको हो । उनी यस अघि नेपाल तामाङ घेदुङ नगर समिति धनकुटाका सदस्य थिए ।
नेपाल तामाङ घेदुङ नगर समितिका उपाध्यक्ष नेत्रकुमारी मोक्तान तामाङको अध्यक्षतमा सम्पन्न घेदुङको नियमित वैठकले घेदुङका स्वर्गिय अध्यक्ष तितुङ तामाङको सम्झनामा शोक बक्तब्य समेत पारित गरेको सचिव बबी घिसिङ तामाङले बताए । आगामी माघ २४ गते स्वर्गिय अध्यक्ष तितुङको ४९ औं पून्य तिथि सकिएपछि मात्र यो वर्षको २८६१ ढुल ल्हो सोनाम ल्होछार नयाँ वर्षको विशेष कार्यक्रम नगर घेदुङ धनकुटाले आयोजना गर्ने धनकुटा प्रेसलाई घिसिङले जानकारी दिए ।
वैठकले नगर घेदुङको धनकुटा स्थित् सप्तकोशी डेभ्लपमेण्ट बैंक धनकुटा शाखामा रहेको वैंक खाताको हस्ताक्षर समेत परिवर्तन गर्ने निर्णय गरेको छ । नगर समितिमा हालै पदपुर्ति गरिएको अध्यक्ष नरेशकुमार पाख्रीन, सचिव बबी घिसिङ तामाङ र कोषाध्यक्ष पञ्चमाया तामाङको नाममा वैंक खाता संचालन गर्ने निर्णय भएको सचिब तामाङले बताए ।
हरेक बर्ष नेपाल तामाङ घेदुङ नगर समिति धनकुटाले तामाङ जातिको महान पर्व सोनाम ल्होछार नयाँ वर्षको अवसरमा विविध कार्यक्रम गर्दै आईरहेको छ । नगर समिति धनकुटाले वि.सं.२०६४ साल देखी धनकुटा नगरको विभिन्न वडामा छरिएर रहेका तामाङहरुलाई एकै थलोमा भेला पारेर सोनाम ल्होछारको अवसरमा विविध कार्यक्रम आयोजना गरिरहेको घेदुङका सल्लाहकार एवं तामाङ समाजका अगुवा सीताराम थिङ तामाङले जानकारी दिएका छन् ।
- dhankutapress