धनकुटा प्रेस सम्वाददाता
धनकुटा/ ६७ औं प्रहरी दिवश विविध कार्यक्रमको साथ सोमवार धनकुटामा मनाइएको छ ।
कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले नेपालको प्रहरी संगठन शान्ती सुरक्षा कायम राख्न अब्बल संगठन रहेको भन्दै शुभकामना व्यक्त गरे । उनले प्रहरीले देश जनताको लागि गर्ने सेवा आँखामा राख्दा नविझाँउने हुनु पर्नेमा जोड दिए ।
कट्टेलले ६६ वर्ष पुरा गरेर ६७ औं वर्ष लागि सकेको नेपाल प्रहरीको सेवालाई समय सापेक्ष सवैखाले चुनौतिलाई सामना गर्दै अघि वढ्न सकोस भन्दै शुभकामना दिए । हिजो प्रहरीको छवि के थियो, आज के छ र भोली के हुन्छ भन्ने आजको प्रहरीको भूमिकाले प्रष्ट्याउने प्रजिअ कट्टलले औल्याए । उनले पछिल्लो समयमा धनकुटाको पाख्रीवास र राजारानीमा प्रहरीले कार्य सम्पादन गर्दा विवादमा आएको भन्दै धनकुटा प्रहरीलाई सचेत गराए ।
कार्यक्रममा प्रजिअ कट्टेलले अमर प्रहरीका परिवारलाई दोसल्ला ओढाएर सम्मान गरे । सम्मानति हुनेहरुमा स्व.प्रहरी निरिक्षक मोहन लिंखा राईका दाजु दुर्गा लिंखा, स्व.प्रहरी सहायक निरिक्षक प्रकास थापाका भाई अर्जुन थापा, स्व.प्रहरी जवान भक्त वहादुर राईका दाजु रत्न वहादुर राई र भुपाल आचार्यका श्रीमती कमला पुरी आचार्य रहेका छन् ।
त्यसैगरि विभिन्न समयमा नेपाल प्रहरीलाई धनकुटामा सहयोग गर्ने दाताहरुलाई पनि सम्मान गरिएको थियो । सम्मानति हुनेहरुमा प्रहरी चौकी डाँडावजार धनकुटाको लागि निःशुल्क जग्गा प्रदान गर्ने जग्गादाता साँगुरीगढी–५ का दिपक वस्नेतलाई कदर पत्रले सम्मान गरिएको छ । त्यसैगरी प्रहरी चौकी मूलघाटमा प्रतिक्षालय निर्माण गर्न सहयोग गर्ने धनकुटा नगरपालिका वडा नं.९ का तिलक वहादुर घिमिरे, जेष्ठ पुर्व प्रहरी कर्मचारी धनकुटा नगरपालिका वडा नं.४ घर भएका वर्ष ८० का पुर्व सहायक निरिक्षक झपड वहादुर घिमिरेलाई पनि कदर पत्रले सम्मान गरिएको छ ।
सामुदायिक प्रहरी साझेदारी कार्यक्रम कार्यन्वयनमा प्रभावकारी भूमिका निर्वाह गरेको भन्दै हिले माध्यामिक विद्यालयका प्रधानाध्यापक खगेन्द्र प्रसाद आचार्य, हाम्रो वहुमुखी पाठाशाला धनकुटाका अध्यक्ष सरोज भुजेल र पुर्व प्रहरी सहायक निरिक्षक सुरेश आलेलाई पनि कदरपत्रले सम्मान गरिएको थियो । जिल्ला प्रहरी कार्यालय धनकुटा मातहतमा रहेर विभिन्न सकलदर्जाका उत्कृष्ठ कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई पनि नगदसहित सम्मान गरिएको थियो ।
पुरस्कृत हुनेहरुमा प्रहरी नायव निरिक्षक डम्वर वहादुर थापा, प्रहरी सहायक निरिक्षक शान्त कुमार पाण्डे, प्रहरी बरिष्ठ हल्दार तारानाथ लावती, प्रहरी सहायक हल्दार लालकुमार कार्की, सागर थापा, प्रहरी जवान विपिन तामाङ र विक्रम कार्की रहेका छन् ।
कार्यक्रममा प्रहरी महानिरिक्षक धिरज प्रताप सिंहले ६७ औं प्रहरी दिवशको अवसर लेखि पठाएको शुभकामना शन्देश प्रहरी निरिक्षक सुवास भट्टराईले वाचन गरि सुनाएका थिए । कार्यक्रममा विभिन्न सरकारी कार्यालयका प्रमुखहरु, सुरक्षा नियकाय प्रमुख एवं प्रतिनिधिहरु, सामाजिक संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरु,संचारकर्मीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
सहभागिहरुलाई जिल्ला प्रहरी कार्यलय धनकुटाका प्रमुख प्रहरी उपरिक्षक लक्ष्मीराज अधिकारीले धन्यवाद दिए । उनले वि.सं.२०१२ साल अशोज ३१ गते पहिलो पटक प्रहरी ऐन जारि भएको वताए । प्रहरी ऐन २०१२ ले प्रहरी संगठनलाई वैधानिकता दिएकोले सोहि दिनलाई नेपाल प्रहरीले प्रहरी दिवशको रुपमा मनाउँदै आएको अधिकारीले बताए ।
- Dhankutapress